काठमाडौं । देशका पहाडी तथा हिमाली भूभागमा वर्षाको सम्भावना रहे पनि तराईका केही क्षेत्रमा गर्मीको प्रभाव कायम रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले आज केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने तथा तराईका भूभागमा तातो दिन रहने जनाएको छ।
विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। अधिकांश तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। अन्य हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।
यता मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने र तातो दिनको अवस्था रहने पूर्वानुमान गरिएको छ।