सेयर बजारमा लगातार गिरावट, नेप्से २० अंकभन्दा बढीले ओरालो

२१ घण्टा अगाडि
सेयर बजारमा लगातार गिरावट, नेप्से २० अंकभन्दा बढीले ओरालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से २० दशमलव २७ अंकले घटेर २ हजार ७३५ बिन्दुमा झरेको हो। यसअघि बिहीबार र शुक्रबार पनि बजार क्रमशः १३ र ११ अंकले घटेको थियो।

कारोबार सुरु भएको केही मिनेटमै ओरालो लागेको बजार दिनभरि नै दबाबमा रह्यो। आज ४१ कम्पनीको सेयर मूल्य बढ्दा २२३ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

कारोबार रकम पनि उल्लेख्य रूपमा घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ४ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ।

समूहगत परिसूचकतर्फ वित्त कम्पनीबाहेक सबै समूह राताम्मे बने। वित्त समूह सामान्य वृद्धि भए पनि व्यापार, अन्य, विकास बैंक, जलविद्युत्, होटल तथा पर्यटन, बैंकिङ, बीमा, लघुवित्त र लगानी समूहमा गिरावट देखियो।

कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढ्यो। क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, सोपान फर्मास्युटिकल्स र सामुदायिक लघुवित्तको मूल्य पनि उल्लेख्य रूपमा उकालो लाग्यो। यता उपकार लघुवित्त, सयपत्री हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरे।

कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत्, सिटी होटल, रिलायन्स स्पिनिङ मिल्स र नेसनल हाइड्रोपावर अग्रस्थानमा रहे।