काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर प्रदेश अधिवेशनको प्रक्रिया सुरु गर्दैछ। वडा, पालिका र अधिकांश जिल्लाको अधिवेशन सम्पन्न गरेपछि पार्टी प्रदेश तहको नेतृत्व चयन तथा संगठन विस्तारमा केन्द्रित भएको हो।
पार्टीले जेठ २६ गतेदेखि असार १ गतेभित्र सबै प्रदेशका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेको छ। यद्यपि केही जिल्लामा आन्तरिक विवादका कारण जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेको बताइएको छ।
बागमती प्रदेशको अधिवेशन मंगलबार हेटौँडाबाट सुरु हुँदैछ। उक्त अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम रहेको छ। बागमती प्रदेशको उद्घाटनसँगै अन्य प्रदेशका अधिवेशन पनि क्रमशः सञ्चालन हुने जनाइएको छ।
अधिवेशनलाई प्रभावकारी बनाउन केन्द्रीय तहका नेताहरू विभिन्न प्रदेशमा परिचालित भएका छन्। प्रदेश अधिवेशनमार्फत संगठनात्मक संरचना सुदृढ बनाउने र महाधिवेशनका लागि प्रतिनिधि चयन गर्ने तयारी रहेको पार्टी स्रोतले जनाएको छ।
रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार महिनामा चितवनमा आयोजना गर्ने तयारी गरिरहेको छ। महाधिवेशनमार्फत पार्टीको भावी राजनीतिक दिशा, नेतृत्व संरचना र संगठनात्मक रणनीतिबारे महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।