काठमाडौं । नेकपा एमालेले पार्टी पुनर्गठन अभियानलाई अघि बढाउन गठन गरेको कार्यदलको पहिलो बैठक मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली स्वयं सहभागी भएका छन्।
पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा थप एकताबद्ध बनाउने उद्देश्यसहित गठन गरिएको कार्यदलको नेतृत्व उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले गरिरहेका छन्। बैठकमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, सचिव छविलाल विश्वकर्मालगायत शीर्ष नेताहरू सहभागी थिए।
एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार कार्यदलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसम्बन्धी कार्ययोजना तयार गर्नेछ। सचिवालय बैठकले गठन गरेको १५ सदस्यीय कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
पार्टीभित्र नेतृत्व हस्तान्तरण र संगठन सुदृढीकरणबारे बहस चलिरहेका बेला अध्यक्ष ओलीको प्रत्यक्ष सहभागितालाई अर्थपूर्ण रूपमा हेरिएको छ।