काठमाडौं । देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहे पनि तराईका केही क्षेत्रमा तातो हावाको लहर तथा उच्च तापक्रमको प्रभाव कायम रहने भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा (ट्रफ) र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले मौसममा मिश्रित अवस्था देखिएको छ।
विभागका अनुसार आज दिउँसो कोसी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ।
सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। यद्यपि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिनको अवस्था कायम रहने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
आज राति देशभर सामान्यदेखि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। मधेस, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा तथा कर्णालीसहित देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
मौसमविद्हरूले वर्षा, चट्याङ तथा उच्च तापक्रमका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्।