मूल्य समायोजनपछि क्यान्सर औषधि अभाव हट्ने, बुधबारदेखि आपूर्ति सहज

एक दिन अगाडि
मूल्य समायोजनपछि क्यान्सर औषधि अभाव हट्ने, बुधबारदेखि आपूर्ति सहज

काठमाडौं । क्यान्सर उपचारमा अत्यावश्यक मानिने 'कार्बोप्लाटिन' र 'सिस्प्लाटिन' औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढेसँगै बजारमा देखिएको अभाव हट्ने भएको छ। नेपाल औषधि आयातकर्ता संघले सरकारले मूल्य समायोजन गरेपछि औषधिको आपूर्ति पुनः नियमित हुने जनाएको छ।

संघका अध्यक्ष पवन आचार्यका अनुसार मूल्य समायोजनको निर्णय कार्यान्वयनमा आएपछि बुधबारसम्म आवश्यक परिमाणमा औषधि बजारमा उपलब्ध गराइनेछ। पछिल्ला केही महिनादेखि यी औषधिको अभावका कारण क्यान्सर बिरामीको उपचार प्रभावित हुँदै आएको थियो।

चिकित्सकहरूका अनुसार क्यान्सरका ६० प्रतिशतभन्दा बढी बिरामीको उपचारमा प्रयोग हुने यी औषधिको अभावले उपचार प्रक्रियामै जोखिम उत्पन्न गरेको थियो। औषधि संकटको विषय संसद्सम्म पुगेपछि विभिन्न सांसदहरूले सरकारलाई तत्काल समाधान खोज्न आग्रह गरेका थिए।

औषधि व्यवस्था विभागका प्रवक्ता किरण बज्राचार्यले औषधि अभाव समाधानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग निरन्तर छलफल भइरहेको जानकारी दिए। उनका अनुसार औषधिको मूल्य समायोजनसम्बन्धी कार्यविधिको मस्यौदा औषधि परामर्श समितिमा प्रस्तुत गर्ने तयारी भइरहेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले पनि कार्बोप्लाटिन र सिस्प्लाटिनको आपूर्ति सहज बनाउन मन्त्रालयले विभिन्न विकल्पमा छलफल गरिरहेको बताए। दीर्घकालीन रूपमा औषधि अभाव नदोहोरिने व्यवस्था गर्ने दिशामा काम भइरहेको उनको भनाइ छ।

किन भयो औषधिको अभाव ?

नेपालले करिब ९० प्रतिशत औषधि भारतबाट आयात गर्छ। भारतमा हरेक वर्ष औषधिको मूल्य पुनरावलोकन हुने व्यवस्था भए पनि नेपालमा भने पछिल्लो ११ वर्षदेखि औषधिको मूल्य समायोजन भएको छैन।

आयातकर्ता संघका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ्नु, भारतले औषधिको मूल्य समायोजन गर्नु र नेपालमा पुरानै मूल्य कायम रहनुले आयातकर्ताहरू घाटामा परेका थिए। परिणामस्वरूप क्यान्सर उपचारका केही अत्यावश्यक औषधिको आयात घट्दै गएको थियो।

अध्यक्ष आचार्यका अनुसार पछिल्लो तीन–चार महिनादेखि देखिएको अभाव पछिल्लो एक महिनामा झन् गम्भीर बनेको थियो। विश्वव्यापी आपूर्ति शृङ्खला समस्या, युद्धजन्य अवस्थाले उत्पादन लागत बढ्नु र मूल्य समायोजन नहुनुले संकट चर्किएको उनले बताए।

हाल कति छ औषधिको मूल्य ?

कार्बोप्लाटिन १५० एमजी : १,३९३ रुपैयाँ ८७ पैसा
कार्बोप्लाटिन ४५० एमजी : ४,१३० रुपैयाँ ७७ पैसा
सिस्प्लाटिन १० एमजी : १४९ रुपैयाँ ८७ पैसा
सिस्प्लाटिन ५० एमजी : ५३२ रुपैयाँ २१ पैसा

नेपालमा हाल नौवटा कम्पनीले यी औषधि आयात गर्दै आएका छन्। वार्षिक रूपमा कार्बोप्लाटिन र सिस्प्लाटिनका करिब १० देखि १२ हजार भायल माग हुने गरेको छ।

औषधि आयातकर्ता संघले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन स्वचालित मूल्य समायोजन प्रणाली लागू गर्नुपर्ने आवश्यकता औँल्याएको छ। संघका अनुसार सरकारले समयमै मूल्य पुनरावलोकन नगर्दा औषधि अभावको समस्या बारम्बार देखिने जोखिम रहन्छ।