काठमाडौं । इरानको शक्तिशाली सैन्य संगठन 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स' (आईआरजीसी)ले दक्षिणी इरानमा अमेरिकी सेनाले गरेको आक्रमणको प्रतिकारस्वरूप बहराइनस्थित अमेरिकी नौसेनाको 'फिफ्थ फ्लिट'माथि ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
आईआरजीसीले जारी गरेको विज्ञप्तिमा अमेरिकी आक्रमणपछि दुवै पक्षबीच सैन्य भिडन्त जारी रहेको उल्लेख गर्दै अमेरिका आफ्नो सैन्य गतिविधिबाट पछि नहटे थप कडा र व्यापक जवाफ दिइने चेतावनी दिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार आईआरजीसीले अमेरिकाले दक्षिणी इरानका जास्क, सिरिक र केशम टापुका विभिन्न स्थानलाई निशाना बनाएर आक्रमण गरेको पुष्टि गरेको छ। ती आक्रमणबाट केही भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ।
आईआरजीसीका अनुसार अमेरिकी आक्रमणका कारण एउटा दूरसञ्चार टावरमा क्षति पुगेको छ भने सिरिकस्थित बेमानी जिल्लाका दुईवटा पानी भण्डारण ट्यांकी पूर्ण रूपमा नष्ट भएका छन्।
यता अमेरिकी पक्षले भने इरानको दाबीबारे तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। बहराइनमा रहेको अमेरिकी ‘फिफ्थ फ्लिट’ मध्यपूर्व क्षेत्रमा अमेरिकी नौसैनिक गतिविधिको प्रमुख केन्द्र मानिन्छ।
मध्यपूर्वमा पछिल्लो समय अमेरिका र इरानबीच तनाव चर्किँदै गएको अवस्थामा यस घटनाले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्न सक्ने चिन्ता बढाएको छ। विश्लेषकहरूले दुवै पक्षबीच प्रत्यक्ष सैन्य टकरावको जोखिम बढ्दै गएको भन्दै संयमता अपनाउन आग्रह गरेका छन्।