चितवन । औषधि व्यवस्था विभागले औषधि कारोबारमा हुने अनियमितता नियन्त्रण गर्न अनुगमन तथा नियमन अभियानलाई तीव्र बनाएको छ। सोही क्रममा विभागको टोलीले चितवनका विभिन्न औषधि पसलमा अनुगमन गर्दै भरतपुर महानगरपालिका-स्थित एयरपोर्ट नजिक सञ्चालनमा रहेको एक औषधि पसलमा अवैध कारोबार भएको फेला पारेको जनाएको छ।
विभागको वीरगञ्ज कार्यालयका कर्मचारी रवि चौधरी थारुको नेतृत्वमा गएको टोलीले डर्मास्युल प्रालिद्वारा सञ्चालित डर्मास्युल फार्मेसीमा छापा हानेको थियो। अनुगमनका क्रममा फार्मेसी सञ्चालक रविन्द्र विष्टले आवश्यक दर्ता प्रक्रिया पूरा नगरी औषधि बिक्री–वितरण गरिरहेको भेटिएको विभागले जनाएको छ।
विभागका अनुसार फार्मेसीमा बिक्री भइरहेका भिटामिन, मिनरल्स, आइरनलगायतका केही उत्पादन सम्बन्धित निकायमा दर्ता नभएको पाइएको छ। औषधिको स्वरूपमा बिक्री गरिने आहारपूरक (फुड सप्लिमेन्ट) सामग्री खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता हुनुपर्ने कानुनी व्यवस्था भए पनि ती उत्पादन दर्ता नगरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको विभागको भनाइ छ।
घटनापछि विभागले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। वीरगञ्ज कार्यालयका कर्मचारी थारुले फार्मेसी सञ्चालकसँग बयान लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
विभागले औषधि तथा स्वास्थ्यसम्बन्धी सामग्रीको बिक्री–वितरणमा कानुनी मापदण्ड पालना भए–नभएको विषयमा चितवनसहित अन्य जिल्लाका औषधि पसलहरूमा पनि अनुगमनलाई निरन्तरता दिने जनाएको छ।
अनुगमनका क्रममा भेटिएका तथ्यका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने विभागले स्पष्ट पारेको छ।