काठमाडौँ महानगरका मेयरबाट बालेनको राजीनामा, रास्वपाको वरिष्ठ नेता बने

२ महिना अगाडि
काठमाडौँ महानगरका मेयरबाट बालेनको राजीनामा, रास्वपाको वरिष्ठ नेता बने

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका छन् । आइतबार उपमेयर सुनिता डङ्गोललाई औपचारिक रूपमा राजीनामा बुझाउँदै शाहले महानगर प्रमुखको जिम्मेवारी त्यागेका हुन् । राजीनामापछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेताका रूपमा औपचारिक रूपमा पार्टी प्रवेश गरेका छन् ।

रास्वपा सभापति रवि लामिछाने र बालेन शाहबीच भएको सहमतिअनुसार शाहले आइतबार नै पार्टीको वरिष्ठ नेताको पदभार ग्रहण गरेका हुन् । रास्वपाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ ।

बालेनको राजनीतिमा औपचारिक प्रवेशलाई आगामी निर्वाचनको सबैभन्दा ठूलो ‘गेम चेञ्जर’ का रूपमा हेरिएको छ । उनी घण्टी घर बनस्थली पुगेर पदभार ग्रहण गर्दै चुनावी प्रचारमा हिडेका छन् । उनी आइतबार नै जनकपुर पुगेका छन् । मधेशी मूलका बालेनलाई अघि सारेर रास्वपाले मधेशमा पकड बनाउने योजना बनाएको थियो ।

रास्वपाका सभापति रवि लामिछानेसहितका नेताहरु पनि चुनावी अभियानमा होमिएका छन्  । यसैबीच बालेन एमाले अध्यक्ष केपी शर्मा ओलीको चुनावी क्षेत्र झापा-५ बाट उम्मेदवारी दिने तयारीमा छन् ।