नुवाकोट । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपालले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण आयोजनाको निर्माण कार्य औपचारिक रूपमा सुरु गरेको छ ।
बिहीबार आयोजित कार्यक्रममा रातमाटे र नयाँ दमौली सबस्टेशनसहित २९७ किलोमिटर लामो प्रसारण लाइन निर्माणको शिलान्यास गरिएको हो ।
यो आयोजना अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान तथा नेपाल सरकारको १९.७0 करोड अमेरिकी डलर लगानीमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमका क्रममा सरकारी अधिकारी, अमेरिकी दूतावासका प्रतिनिधि, विकास साझेदार र निर्माण व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत तीन वटा ४०० केभी क्षमताका सबस्टेशन र ३१५ किलोमिटर प्रसारण लाइन निर्माण हुँदैछ । शिलान्यास गरिएको प्रसारण लाइनमा लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा, रातमाटे–न्यू दमौली र न्यू दमौली–न्यू बुटवल खण्ड समावेश छन् ।
अर्थ सचिव तथा एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष घनश्याम उपाध्यायले आयोजनालाई नेपालको आर्थिक भविष्यसँग जोडिएको रणनीतिक लगानीका रूपमा व्याख्या गरे । ऊर्जा सुरक्षा, औद्योगिक विस्तार र विद्युत् निर्यातका सम्भावना विस्तारका लागि प्रसारण पूर्वाधार सुदृढ बनाउनु आवश्यक रहेको उनको भनाइ थियो ।
नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले यो आयोजना नेपालको ऊर्जा भविष्यको मेरुदण्ड बन्ने बताए । भरपर्दो विद्युत् आपूर्तिले घरपरिवार, उद्योग, कृषि र व्यवसायलाई प्रत्यक्ष लाभ पुग्ने उनको भनाइ थियो ।
एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्कोले प्रसारण प्रणाली सुदृढ भएपछि नेपालको ऊर्जा क्षेत्रको पूर्ण सम्भावना उपयोग गर्न मद्दत पुग्ने बताए ।
त्यस्तै नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले निर्माणाधीन संरचना नेपालको राष्ट्रिय प्रसारण सञ्जालकै महत्त्वपूर्ण विस्तार भएको बताए ।