काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप २०२६ आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। इतिहासकै सबैभन्दा ठूलो मानिएको यस संस्करणमा पहिलो पटक ४८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगिताअन्तर्गत १६ सहरमा १०४ खेल खेलाइनेछन्। उद्घाटन समारोह मेक्सिको सिटीमा हुनेछ भने उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने हुनेछन्।
नयाँ ढाँचाअनुसार १२ समूहका शीर्ष दुई टोली र उत्कृष्ट प्रदर्शन गर्ने तेस्रो स्थानका टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। ब्राजिल, अर्जेन्टिना, फ्रान्स, स्पेन र पोर्चुगललाई उपाधिका प्रमुख दाबेदारका रूपमा हेरिएको छ।
यस संस्करणमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी सम्भवतः अन्तिम विश्वकप खेल्दैछन्। नयाँ पुस्ताका स्टार खेलाडी र अनुभवी खेलाडीहरूको उपस्थितिले विश्वकपलाई थप आकर्षक बनाएको छ।