काठमाडौं । केही दिनयता अत्यधिक गर्मी र तातो हावाको प्रभाव झेलिरहेको देशको मौसममा आजदेखि परिवर्तन देखिने भएको छ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ भने केही क्षेत्रमा भारी वर्षा हुन सक्ने चेतावनी पनि दिएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि आंशिक बदली रहनेछ । विशेषगरी कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
रातिको समयमा पनि देशभर सामान्य बदली कायम रहने अनुमान गरिएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग, कोसी, मधेस, वाग्मती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ ।
पछिल्ला दिनहरूमा लगातार तातो दिन र तातो हावाको लहरको चेतावनी जारी गर्दै आएको विभागले आज भने यस्तो चेतावनी जारी गरेको छैन । यसको सट्टा देशका धेरै स्थानमा वर्षाको सम्भावना औँल्याइएको छ, जसले केही राहत मिल्ने अपेक्षा गरिएको छ ।
यसैबीच मौसमविद् विनोद पोखरेल ले आगामी दुई दिन लुम्बिनी, वाग्मती र मधेस प्रदेशका दक्षिणी क्षेत्रमा भारी वर्षा हुन सक्ने बताएका छन् । उनका अनुसार भारी वर्षाका लागि अनुकूल वातावरण बनाउने बादल प्रणाली पछिल्लो १० घण्टादेखि सक्रिय रहेको छ ।
हाल नेपालको मौसममा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव देखिएको विभागले जनाएको छ । यही प्रणालीका कारण देशका विभिन्न भागमा बदली र वर्षाको गतिविधि बढ्न लागेको मौसमविद्हरूको विश्लेषण छ ।
मौसमविद्हरूले मेघगर्जन, चट्याङ र सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै सतर्कता अपनाउन तथा नदी, खोला र पहिरो जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।