चीन भ्रमणको अन्तिम तयारीमा परराष्ट्रमन्त्री खनाल

५ घण्टा अगाडि
चीन भ्रमणको अन्तिम तयारीमा परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको जेठ ३१ गतेदेखि हुने चीन भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणबारे औपचारिक घोषणा भने गरिसकेको छैन ।

भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । चीनस्थित नेपाली दूतावासले त्यसको तयारी गरिरहेको जनाएको छ ।

चीन बसाइका क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, पूर्वाधार विकास, व्यापार तथा क्षेत्रीय विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

असार १ गते मन्त्री खनालले चाइना एकेडेमी अफ साइन्सका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा नेपाल–चीन सहकार्यका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । भ्रमण सकेर उनी असार ३ गते स्वदेश फर्किने कार्यतालिका छ ।