विश्वकप फुटबल

आजबाट विश्वकप, उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका

१३ घण्टा अगाडि
आजबाट विश्वकप, उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका

काठमाडौं । विश्व फुटबलका समर्थकले प्रतिक्षा गरेको क्षण अन्ततः आइपुगेको छ । फिफा विश्वकप २०२६ को औपचारिक सुरुआत आज मध्यराति सह-आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीचको उद्घाटन खेलबाट हुँदैछ । रोचक संयोग के छ भने १६ वर्षअघि दक्षिण अफ्रिकामा आयोजित विश्वकपको उद्घाटन खेलमा पनि यी दुई टोली आमनेसामने भएका थिए ।

सन् २०१० मा जोहानेसबर्गमा भएको उद्घाटन खेल १–१ को बराबरीमा टुंगिएको थियो । अब १६ वर्षपछि दुवै टोली फेरि विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चको उद्घाटन खेलमै भिड्न लागेका हुन् ।

एस्टाडियो अज्टेका मा हुने खेल नेपाली समयअनुसार मध्यराति १२ः४५ बजे सुरु हुनेछ । करिब ८० हजार दर्शकले भरिने अपेक्षा गरिएको यो रंगशाला विश्वकप इतिहासमा तीन वटा उद्घाटन खेल आयोजना गर्ने पहिलो रंगशाला बन्नेछ । यसअघि यही मैदानमा सन् १९७० र १९८६ को विश्वकप उद्घाटन खेल भइसकेका छन् ।

यस संस्करणसँगै विश्वकपले नयाँ इतिहास पनि रच्दैछ । पहिलोपटक ४८ टोली सहभागी हुने प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन्, जुन कतार २०२२ को तुलनामा ४० खेल बढी हो । साथै पहिलोपटक संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडा ले संयुक्त रूपमा विश्वकप आयोजना गरिरहेका छन् ।

खेल सुरु हुनुभन्दा ९० मिनेटअघि भव्य उद्घाटन समारोह आयोजना हुनेछ । समारोहमा चार पटक ग्रामी अवार्ड विजेता शाकिरा मुख्य आकर्षण रहनेछिन् । साथै जे बाल्भिन र टाइला ले पनि प्रस्तुति दिने कार्यक्रम छ ।

फुटबलप्रति अत्यधिक उत्साह रहेको मेक्सिकोले १७औँ पटक विश्वकपमा सहभागिता जनाउँदैछ । घरेलु मैदान, समर्थकको साथ र फिफा वरीयतामा उच्च स्थानका कारण मेक्सिकोलाई उद्घाटन खेलको बलियो दाबेदार मानिएको छ ।

मेक्सिको राष्ट्रिय फुटबल टोली पछिल्ला आठ खेलमा अपराजित छ । विश्वकपअघि घाना, अस्ट्रेलिया र सर्बियाविरुद्ध लगातार जित निकाल्दै टोली उच्च मनोबलमा देखिएको छ । प्रशिक्षक हाभिएर अगिरे को टोली घरेलु समर्थकमाझ विजयी सुरुआत गर्ने लक्ष्यमा छ ।

यता फिफा वरीयताको ६०औँ स्थानमा रहेको दक्षिण अफ्रिका राष्ट्रिय फुटबल टोली भने १४औँ स्थानको मेक्सिकोविरुद्ध उलटफेरको खोजीमा हुनेछ । ‘बाफाना बाफाना’ उपनामले परिचित दक्षिण अफ्रिका १६ वर्षपछि विश्वकपमा फर्किएको हो । यो उसको चौथो विश्वकप सहभागिता हो ।

दक्षिण अफ्रिकाका प्रशिक्षक हुगो ब्रुस ले उद्घाटन खेललाई टोलीका लागि ऐतिहासिक अवसरको रूपमा व्याख्या गरेका छन् । उनले खेलअघि पत्रकारसँग कुरा गर्दै टोलीले वातावरणभन्दा पनि खेल योजनामा केन्द्रित हुनुपर्ने बताएका छन् ।

यद्यपि दक्षिण अफ्रिकाको तयारीमा केही अवरोध देखिएको थियो । भिसा समस्याका कारण टोलीका केही सदस्य ढिलो मेक्सिको पुगेका थिए, जसले गर्दा उनीहरूले स्थानीय मौसम र उचाइमा पर्याप्त अभ्यास समय पाउन सकेनन् ।

समूह ‘ए’ मा मेक्सिको, दक्षिण अफ्रिका, चेक गणतन्त्र र दक्षिण कोरिया रहेका छन् । नयाँ ढाँचाअनुसार १२ समूहका शीर्ष दुई टोली र उत्कृष्ट प्रदर्शन गर्ने आठ तेस्रो स्थानका टोली नकआउट चरण अर्थात् राउन्ड अफ ३२ मा पुग्नेछन् । विश्वकप इतिहासमा पहिलोपटक राउन्ड अफ ३२ समावेश गरिएको हो ।

मेक्सिको र दक्षिण अफ्रिकाबीच विश्वकपमा यो पाँचौँ भेट हुनेछ । अहिलेसम्म मेक्सिकोले दुई खेल जितेको छ भने दक्षिण अफ्रिकाले एक खेल आफ्नो पक्षमा पारेको छ । एक खेल बराबरीमा सकिएको थियो ।

पछिल्ला पाँच खेलको प्रदर्शन हेर्दा मेक्सिको स्पष्ट रूपमा लयमा देखिन्छ । मेक्सिकोले पछिल्ला पाँच खेलमध्ये तीन जित र दुई बराबरी खेलेको छ । दक्षिण अफ्रिकाले भने तीन खेलमा बराबरी र दुई खेलमा हार बेहोरेको छ ।

तथ्याङ्क, घरेलु मैदान र वर्तमान लय मेक्सिकोको पक्षमा देखिए पनि विश्वकपको उद्घाटन खेल भएकाले दबाब दुवै टोलीमाथि बराबर रहनेछ । १६ वर्षअघि जस्तै दक्षिण अफ्रिकाले फेरि चकित पार्ने कि मेक्सिकोले घरेलु समर्थकमाझ विजयी सुरुआत गर्ने भन्ने चासो विश्वभरका फुटबल समर्थकमाझ बढेको छ ।