कांग्रेस विवाद सर्वोच्च अदालतसम्म

२ महिना अगाडि
कांग्रेस विवाद सर्वोच्च अदालतसम्म

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद अदालतसम्म पुगेको छ । कांग्रेसको शेरबहादुर देउवा र पूर्णबहादुर खड्का पक्षले निर्वाचन आयोग र सभापति गगन थापा पक्षलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

१४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वको कार्यकाल बाँकी रहँदै विधानविपरीत विशेष महाधिवेशन गरिएको र निर्वाचन आयोगले हचुवाका भरमा अर्को पक्षलाई आधिकारिकता दिएको भन्दै देउवा पक्ष अदालत पुगेको हो । रिटमा निर्वाचन आयोगको निर्णय बदर गरी साविककै केन्द्रीय कार्यसमिति आधिकारिक रहेको माग गरिएको छ ।

यसैबीच सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा देउवा पक्षले निर्वाचन आयोगमा अर्को निवेदन दिएको छ । अदालतको फैसला नआएसम्म निर्वाचनका सबै कार्यक्रम स्थगित गर्न माग गर्दै आइतबार निवेदन दर्ता गराइएको हो ।

देउवा पक्षका मुख्य सचिव कृष्णप्रसाद पौडेलसहित पूर्वमहान्यायाधिवक्ता खम्बाबहादुर खाती र अधिवक्ता केशवराज जोशी निर्वाचन आयोग पुगेर निवेदन दर्ता गराएका हुन् । यसले कांग्रेस विवादले चुनावी प्रक्रियामा समेत प्रभाव पार्ने संकेत देखिएको छ ।