काठमाडौं । इजरायलमा केयरगिभरका रूपमा जान चाहने नेपालीका लागि सञ्चालन हुने अंग्रेजी भाषा परीक्षा शुक्रबारदेखि पुनः सञ्चालन हुने भएको छ ।
परीक्षा सञ्चालन संस्था सीआईएनए इन्टरनेसनलले सूचना जारी गर्दै बिहीबारदेखि तय भएका सबै परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुने जनाएको हो ।
यद्यपि जेठ २६ र २७ गते सञ्चालन हुन नसकेका परीक्षाका लागि भने छुट्टै मिति तय गरिने संस्थाले जनाएको छ । प्रभावित परीक्षार्थीलाई व्यक्तिगत रूपमा सन्देश पठाएर नयाँ समय जानकारी गराइने बताइएको छ ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउने कार्यक्रमअन्तर्गत आधारभूत तहको अंग्रेजी भाषा परीक्षा अनिवार्य गरिएको छ ।
त्रिपुरेश्वरस्थित परीक्षा केन्द्रमा पुगेका परीक्षार्थीहरूले परीक्षा प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विरोध गरेपछि परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
पछि वैदेशिक रोजगार विभागले परीक्षा स्थगित नगर्न निर्देशन दिएपछि पुनः सञ्चालनको निर्णय गरिएको हो ।