मनसुन सक्रिय, पूर्वी नेपालका नदीमा बाढीको जोखिम

४ घण्टा अगाडि
मनसुन सक्रिय, पूर्वी नेपालका नदीमा बाढीको जोखिम

मनसुन सक्रिय भएसँगै बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न नदी तथा खोलामा बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले जारी गरेको सूचनाअनुसार सुनसरी, मोरङ, संखुवासभा तथा आसपासका जिल्लाबाट बग्ने साना नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ। ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाइएको छ।

नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन तथा सम्भावित जोखिमबारे सचेत रहन आग्रह गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशका केही स्थानमा मात्रै मनसुनी वायुको प्रभाव देखिएको छ भने अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायु सक्रिय छन्।

यस वर्ष मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो अर्थात् असार ५ गते नेपाल प्रवेश गरेको थियो। मौसमविद्हरूका अनुसार कोशी प्रदेशबाट सुरु भएको मनसुन क्रमशः पश्चिमतर्फ विस्तार हुँदै जानेछ।