राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनका लागि चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ। सातै प्रदेश, प्रवास, समायोजन र मनोनयन प्रक्रियामार्फत प्रतिनिधिहरू चयन गरिएको पार्टीले जनाएको छ।
पार्टी सचिवालयअन्तर्गत संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट १७० जना प्रतिनिधि सहभागी हुनेछन्। त्यस्तै पार्टी सभापतिबाट विधानअनुसार १३८ जना मनोनयन भइसकेका छन् भने समूहगत रूपमा पार्टी प्रवेश गरेका १९२ जनालाई पनि प्रतिनिधि बनाइएको छ।
प्रदेशगत रूपमा कोशीबाट ३६४, मधेशबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि सहभागी हुनेछन्।
महाधिवेशन प्रतिनिधिमा पालिका, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय संरचनाका पदाधिकारी तथा सदस्यहरू समेटिएका छन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पराजित प्रत्यक्ष र समानुपातिक उम्मेदवारलाई पनि प्रतिनिधित्व दिइएको छ।