घण्टी बजाएर रास्वपाको प्रथम महाधिवेशन उद्घाटन

३ घण्टा अगाडि
घण्टी बजाएर रास्वपाको प्रथम महाधिवेशन उद्घाटन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ। पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशन उद्घाटन गरेका छन्।

चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा आयोजित उद्घाटन समारोहमा मञ्चमा उपस्थित अन्य राजनीतिक दलका नेताहरूले पनि घण्टी बजाएर ऐक्यबद्धता जनाएका थिए। उद्घाटन कार्यक्रमको सञ्चालन पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले गरेका छन्।

समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना मन्तव्य दिने कार्यक्रम राखिएको छ। नेपाली कांग्रेसका नेता गगनकुमार थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

रास्वपाको पहिलो महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि सहभागी भएका छन्। उनीहरूले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्। निर्वाचन आयोगले यसअघि नै नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ।