काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा नागरिकको लोकतान्त्रिक आकांक्षा र परिवर्तनको आवाज बनेको बताएका छन्।
पार्टीको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले परम्परागत राजनीतिप्रति जनविश्वास कमजोर हुँदै गएको अवस्थामा रास्वपाको उदय भएको बताए।
‘जब इमानदार मान्छेले राजनीति असल मान्छेका लागि होइन भन्ने निष्कर्ष निकाल्न थाले, लोकतन्त्रले आशा देखाउन छाड्यो र सत्ता केवल लालचको व्यवस्थापन जस्तो देखिन थाल्यो। त्यतिबेला परिवर्तनको चाहना विद्रोहमा बदलियो र त्यसको लोकतान्त्रिक आवाज बन्न सकेको हो रास्वपा,’ उनले भने।
उनले अहिले आफूहरू नेपालको राजनीतिक इतिहासको नयाँ अध्याय लेख्ने अभियानमा रहेको जिकिर गरे।
वाग्लेले विगतका आन्दोलनले लोकतन्त्र, संविधान र समावेशीकरणको आधार तयार पारेको स्वीकार गर्दै अब लोकतन्त्रको गुणस्तर सुधार गर्नु आवश्यक रहेको बताए।
‘विगतका आन्दोलनले नेपालमा लोकतन्त्र ल्याए, संविधान ल्याए र समावेशीताको आधार तयार गरे। ती उपलब्धिको हामी सम्मान गर्छौं। अब लोकतन्त्रको संस्थागत गुणस्तरलाई अझ माथि उठाउनुपर्ने आवश्यकता छ,’ उनले भने।