चितवन । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले भारतसँगको सीमा विवादबारे संसद्मा दिएको अभिव्यक्तिमाथि उठेका प्रश्नको जवाफ दिएका छन्।
चितवनमा आइतबार आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले बेलायत (ब्रिटिस) लाई सीमा विवादमा मध्यस्थकर्ताको भूमिका दिन खोजेको नभई ऐतिहासिक प्रमाण जुटाउने सन्दर्भमा मात्रै आफ्नो धारणा राखेको स्पष्ट पारे।
उनले नेपालसँग कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी पर्याप्त प्रमाण रहेको उल्लेख गर्दै आवश्यक परे ब्रिटिस शासनकालका ऐतिहासिक दस्तावेजसमेत ल्याउन सकिने आशय व्यक्त गरेको बताए।
‘हामीसँग कालापानी र लिपुलेकका प्रमाण छन्। ब्रिटिसले शासन गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं। हामीले ब्रिटिसलाई मध्यस्थ बनाउन खोजेका होइनौं,’ उनले भने।
प्रधानमन्त्री शाहले सीमा समस्याको समाधान नेपाल र भारतले आपसी संवाद र प्रमाणका आधारमा नै गर्ने बताए।
‘हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौं। हामीसँग प्रमाण छ। मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन,’ उनले भने।
शाहले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग रहेको दोहोर्याउँदै ती क्षेत्र फिर्ता ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे।
प्रधानमन्त्री शाहले जेठ १७ गते प्रतिनिधिसभामा दिएको अभिव्यक्तिपछि सीमा विवादमा तेस्रो देशको भूमिका खोजिएको भन्दै विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका थिए। चितवनमा आयोजित रास्वपाको महाधिवेशनबाट उनले त्यसबारे थप प्रष्टीकरण दिएका हुन्।