रास्वपाले पाएको असाधारण जनमत जोगाउनुस्, अहंकारले दुर्घटनामा नपरोस् : गगन थापा

४ घण्टा अगाडि
रास्वपाले पाएको असाधारण जनमत जोगाउनुस्, अहंकारले दुर्घटनामा नपरोस् : गगन थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जनमत असाधारण र लोभलाग्दो रहेको भन्दै त्यसलाई जोगाउन आग्रह गरेका छन्।

चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिक इतिहासमा यस्ता जनमत यसअघि पनि पटक–पटक देखिएको भए पनि व्यक्तिगत टकराव, सत्ताको उन्माद र अहंकारका कारण ती राजनीतिक शक्तिहरू दुर्घटनामा परेको बताए।

‘रास्वपाले पाएको जनमत असाधारण छ। यसमा कुनै दुईमत छैन। विगतमा पनि यस्तै जनमत प्राप्त भएका थिए, तर व्यक्तिवाद, अहंकार र शक्तिको उन्मादले ती दलहरू दुर्घटनामा परे। म कामना गर्छु, रास्वपामा त्यस्तो नहोस्,’ उनले भने।

थापाले कुनै दल दुर्घटनामा पर्दा त्यसको असर त्यो दलमा मात्रै सीमित नहुने उल्लेख गर्दै त्यसले नागरिकको विश्वास र एउटा पुस्ताको आशामाथि नै असर पार्ने बताए।

उनले रास्वपाले प्राप्त गरेको जनमत देशमा स्थिरता, सुशासन र नयाँ राजनीतिक अभ्यासका लागि उपयोग गर्नुपर्ने धारणा राखे।

महामन्त्री थापाले कांग्रेस र रास्वपा राजनीतिक प्रतिस्पर्धी भए पनि शत्रु नरहेको स्पष्ट पारे।

‘रास्वपा हाम्रो प्रतिस्पर्धी हो, शत्रु होइन। हामी खुट्टा तानेर होइन, आफ्नै पार्टीभित्रको दुर्गन्ध सफा गरेर प्रतिस्पर्धा गर्छौं,’ उनले भने।

कानुनसम्मत र राष्ट्रिय हितका विषयमा कांग्रेसले रास्वपालाई साथ दिने पनि उनले बताए।

थापाले कांग्रेसभित्र पनि विगतमा कमजोरी भएको स्वीकार गर्दै आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गरे।

‘बाहिरसँग लड्न सजिलो हुँदो रहेछ, आफ्नै घरभित्र सुधार गर्न गाह्रो हुँदो रहेछ। हामीले गल्ती गरेका छौँ, त्यसलाई स्वीकार गरेका छौँ,’ उनले भने।

उनले रास्वपाका नेता तथा कार्यकर्तालाई नेतृत्वप्रति अन्धभक्ति नराख्न पनि सुझाव दिए।

‘हामीले आफ्ना नेतालाई ‘बा’ र भगवान बनायौँ, त्यसको सजाय भोग्यौँ। आफ्नै नेतालाई प्रश्न गर्ने आँट गर्नुस्,’ उनले भने।

थापाले लोकतान्त्रिक आन्दोलन र विगतका राजनीतिक संघर्षलाई नबिर्सन आग्रह गर्दै संविधानको रक्षा गर्नु सबै राजनीतिक दलको साझा दायित्व भएको बताए।

‘तपाईंहरूले निलो झण्डा बोकिरहँदा विगतका बलिदान र संघर्षलाई बिर्सनु हुँदैन। संविधान जोगाउनु नै सबैको धर्म हो,’ उनले भने।