रास्वपा धेरै भोट ल्याउने रविको दाबी

२ महिना अगाडि
रास्वपा धेरै भोट ल्याउने रविको दाबी

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी प्रतिनिधिसभा निर्वाचनमा रास्वपा देशकै सबैभन्दा धेरै मत ल्याउने पार्टी बन्ने दाबी गरेका छन्।

जनकपुरधाममा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै उनले अघिल्लो निर्वाचनमा आफू सबैभन्दा धेरै भोट ल्याउने सांसद बने पनि षड्यन्त्रपूर्वक हटाइएको आरोप लगाए। उनले आफू जनताको मुद्दा बोकेर राजनीतिमा हिँडेको भन्दै आफूमाथि लागेका मुद्दाबाट नडराउने स्पष्ट पारे।

“म जनताको विश्वास बोकेर हिँडेको मान्छे हुँ। सत्यको बाटोमा हिँड्दा आउने बाधा–अवरोधले मलाई रोक्न सक्दैन,” लामिछानेले भने।

उनले पुराना दलले देशलाई निराश बनाएको आरोप लगाउँदै वैकल्पिक शक्तिको रूपमा रास्वपाले जनताको भरोसा जित्ने बताए। सभामा हजारौँ समर्थकको उपस्थिति रहेको थियो।