प्रतिनिधिसभा निर्वाचनका लागि करिब ३ हजारको उम्मेदवारी दर्ता

२ महिना अगाडि
प्रतिनिधिसभा निर्वाचनका लागि करिब ३ हजारको उम्मेदवारी दर्ता

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर उम्मेदवारी मनोनयन दर्ताका लागि सोमबार निर्धारित समयभित्रै सबै दलका शीर्ष नेतादेखि स्वतन्त्र उम्मेदवारहरूले उत्साहका साथ मनोनयन दर्ता गरेका छन्। 

निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा बिहानैदेखि उम्मेदवारहरू बाजागाजा र समर्थकहरूको जुलुससहित निर्वाचन अधिकृत कार्यालय पुगेका थिए तथा २ हजार ९ सय २५ भन्दा बढीले उम्मेदवारी दर्ता गराइसकेका छन्, केही विवरण अझै अधिकृत कार्यालयबाट प्रविष्ट हुने क्रम जारी भएकोले संख्या अझ बढ्ने अनुमान गरिएको छ।

नेपाली कांग्रेसले आफ्ना सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन दर्ता गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए। प्रमुख नेताहरूमध्ये सभापति गगनकुमार थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे लगायतले उम्मेदवारी दर्ता गरेका छन् भने पार्टीभित्र केही वरिष्ठ नेताले आफू यसपटक उम्मेदवार नहुने घोषणा गरिसकेका छन्।

काठमाडौँ क्षेत्र–४ मा सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन्। त्यहि क्षेत्रमा एमाले, रास्वपा र अन्य पार्टीका उम्मेदवारले पनि मनोनयन भरेका छन्, जसले प्रतिस्पर्धा कडा हुने संकेत दिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा बालेन शाहले झापा ५ बाट मनोनयन दर्ता गराएका छन् । रास्वपाका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन २ बाट उम्मेदवारी दिए । त्यस्तै नेकपा संयोजक प्रचण्डले रुकुमपूर्व र सहसंयोजक माधवकुमार नेपालले रौतहट १ बाट उम्मेदवारी दिएका छन् । 

स्थानीय तहका धेरै कार्यकारी तथा अधिवक्ता, वडाध्यक्ष र उपप्रमुखहरू समेत पदबाट राजीनामा दिँदै संघीय निर्वाचनमा उम्मेदवारी दर्तामा परिचालित भएका छन्, जसले आगामी चुनावलाई थप प्रतिस्पर्धात्मक बनाएको छ।