बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लाभित्र दर्ता भएका सबै किसिमका हातहतियार तथा खरखजाना बुझाउन आग्रह गरेको छ।
निर्वाचन प्रक्रिया शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउनका लागि इजाजत प्राप्त हातहतियारहरू (विशेषगरी भरुवा बन्दुक) माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय बझाङ वा नजिकको प्रहरी इकाईमा बुझाउनुपर्ने प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी ले जानकारी दिएका छन्।
जिल्ला प्रशासन कार्यालयले यस सम्बन्धमा आधिकारिक सूचना जारी गर्दै हातहतियार धनीहरूलाई समयमै हतियार बुझाउन अनुरोध गरेको हो। प्रहरीले बुझिलिएका हातहतियारहरू सुरक्षित रूपमा भण्डारण गरिने र निर्वाचन सम्पन्न भएपछि सम्बन्धित धनीलाई कानुनबमोजिम फिर्ता गरिने प्रशासनले स्पष्ट पारेको छ।
प्रशासनका अनुसार तोकिएको समयभित्र हातहतियार तथा खरखजाना नबुझाउने व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने छ। निर्वाचन अवधिमा सुरक्षा संवेदनशीलता उच्च रहने भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न यो कदम चालिएको बताइएको छ।
जिल्ला प्रशासनले सबै नागरिकलाई निर्वाचनलाई भयरहित र मर्यादित बनाउन सहयोग गर्न आग्रह गर्दै कानुनी प्रावधानको पूर्ण पालना गर्न अनुरोध गरेको छ।