काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा सोमबार दिउँसो भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ । इमर्जेन्सी नामक मानवीय संस्थाकाअनुसार अस्पताल ल्याइएका २० जनामध्ये ७ जनालाई मृत घोषित गरिएको थियो ।
अफगानिस्तानका लागि संस्थाका राष्ट्रिय निर्देशक डेजन पानिकले घाइतेहरूमा चार महिला र एक बालक रहेको जानकारी दिनुभएको छ । उहाँकाअनुसार धेरैजसो घाइतेहरूको शरीरमा गहिरो चोट लागेको छ र केहीको शल्यक्रिया भइरहेको छ ।
गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतिन कानीले काबुलको एक रेस्टुरेन्टमा विस्फोट भएको पुष्टि गर्दै घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताउनुभएको छ । हालसम्म विस्फोटको जिम्मेवारी कुनैपनि समूहले लिएको छैन ।