काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै पेट्रोल, डिजेलसहित पेट्रोलियम पदार्थको खपत १० दिनको अवधिमा २५ प्रतिशतसम्म बढ्न सक्ने सरकारी अधिकारीहरूले अनुमान गरेका छन्। निर्वाचन अवधिमा सवारी आवागमन र गतिविधि बढ्ने भएकाले इन्धनको माग ह्वात्तै बढ्ने देखिएको हो।
नेपाल आयल निगमले चुनावी समयलाई ध्यानमा राख्दै इन्धन आपूर्ति व्यवस्थापनको तयारी अघि बढाएको जनाएको छ। निगमका अनुसार सामान्य दिनको तुलनामा चाडपर्वमा जस्तै निर्वाचनका बेला पनि पेट्रोलियम पदार्थको खपत उल्लेख्य रूपमा बढ्ने भएकाले सोहीअनुसार भण्डारण र आपूर्ति रणनीति बनाइएको छ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निर्वाचनलाई मध्यनजर गर्दै सबै डिपोहरूलाई पर्याप्त इन्धन भण्डारण गर्न निर्देशन दिने तयारी भइरहेको जानकारी दिए। उनले चुनाव आसपासका केही दिन सीमा नाकाहरू आंशिक रूपमा बन्द हुन सक्ने सम्भावनालाई समेत ध्यानमा राखेर व्यवस्थापन गर्न लागिएको बताए।
उनले भने, “निर्वाचन हुने निश्चित भइसकेको छ। त्यस अवधिमा बजारमा इन्धन अभाव नहोस् भनेर हरेक डिपोलाई पर्याप्त स्टक राख्न निर्देशन दिइँदैछ। अब केही दिनमै यससम्बन्धी औपचारिक निर्देशन जारी हुन्छ।”
कार्यकारी निर्देशक भट्टका अनुसार हाल दैनिक औसत २०–२५ लाख लिटर पेट्रोल र ३८–४० लाख लिटर डिजेल खपत हुँदै आएको छ। उनले निर्वाचनको करिब १० दिनअघि मात्रै इन्धन खपत औसतभन्दा २० देखि २५ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको बताए। सोही आधारमा आवश्यक स्टक राखेर आपूर्ति व्यवस्थापन गरिने उनको भनाइ छ।
निर्वाचनका बेला सीमा नाकाहरू केही दिन बन्द हुने सम्भावनाका कारण निगमले इन्धन ढुवानीमा विशेष सतर्कता अपनाउने उनले जानकारी दिए। उनका अनुसार निगमसँग रहेका १७–१८ सय ट्याङ्करलाई पूर्ण रूपमा परिचालन गर्दै ट्याङ्करमै समेत इन्धन स्टक राख्ने योजना बनाइएको छ।
उनले भने,“कति दिन नाका बन्द हुन्छ भन्ने अनुमानका आधारमा ट्याङ्कर र भण्डारण गृहहरू भरिनेछन्। यसरी आपूर्ति प्रणालीलाई सहज बनाउने तयारी छ।”
उनका अनुसार २–४ दिनसम्म नाका बन्द भए पनि बजारमा इन्धन अभाव नहुने गरी व्यवस्थापन गरिनेछ। कुन नाकाबाट कति इन्धन ल्याउने र कति भण्डारण गर्ने भन्ने विषयमा यसै साता निगम निर्णयमा पुग्ने तयारीमा छ।
नेपाल आयल निगमले पछिल्लो समय भण्डारण क्षमता विस्तारलाई तीव्रता दिएको जनाएको छ। भट्टका अनुसार दुई वर्षअघि पेट्रोल करिब ८ दिन र डिजेल १२ दिनसम्म मात्र धान्ने क्षमता रहेकोमा अहिले अवस्था सुधारिएको छ।
अमलेशगञ्जमा १४ हजार केएल क्षमताका चारवटा इन्धन ट्याङ्की निर्माण भइसकेका छन् भने पोखरामा १० हजार केएल क्षमताको ट्याङ्की सञ्चालनमा ल्याइएको उनले बताए। साथै विराटनगर र नेपालगञ्जका भण्डारण ट्याङ्कीहरूलाई पनि पूर्ण रूपमा प्रयोगमा ल्याइँदै क्षमता बढाइएको जानकारी दिए।
हाल निगमसँग डिजेल करिब १४ दिन र पेट्रोल १२ दिनसम्म धान्ने भण्डारण क्षमता रहेको छ । भट्टका अनुसार इन्धन पाइपलाइन विस्तारको काम पनि तीव्र गतिमा अघि बढिरहेको छ। मोतिहारी–अमलेशगञ्ज पाइपलाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ। सुरुमा डिजेल मात्रै पाइपलाइनमार्फत ल्याइए पनि अहिले पेट्रोल र मट्टीतेलसमेत पाइपलाइनबाट आयात भइरहेको उनले बताए।
उनका अनुसार पाइपलाइन प्रयोगमा आएसँगै भारतबाट ट्याङ्करमार्फत इन्धन ल्याउँदा देखिने समस्या हटेको छ। ढुवानी लागत घटेकै कारण उपभोक्तालाई प्रतिलिटर करिब २ रुपैयाँ सस्तो इन्धन उपलब्ध हुँदै आएको उनले जानकारी दिए।
आगामी दिनमा अमलेशगञ्ज–चितवन र सिलगुढी–झापा पाइपलाइन योजना अघि बढिरहेको उल्लेख गर्दै भट्टले यी योजना पूरा भएपछि प्रतिलिटर साढे ३ रुपैयाँसम्म थप सस्तो पर्ने बताए। पाइपलाइन र भण्डारण गृह निर्माण आगामी तीन वर्षभित्र सम्पन्न गर्ने निगमको लक्ष्य रहेको उनले जानकारी दिए।
उनका अनुसार भविष्यमा हवाई इन्धनसमेत पाइपलाइनमार्फत नेपाल ल्याएर भण्डारण र वितरण गर्ने तयारी भइरहेको छ, जसले ट्याङ्करमार्फत भारत जानुपर्ने बाध्यता अन्त्य गर्ने अपेक्षा गरिएको छ।