काठमाडौं — काठमाडौं महानगरपालिकाले शहरी व्यवस्थापनलाई व्यवस्थित बनाउन फुटपाथ र पार्किङ व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राख्ने जनाएको छ। महानगरले यस क्षेत्रमा निगरानी र अनुशासनलाई थप कडाइ गर्ने तयारी गरेको हो।
बुधवार आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले महानगरको पछिल्लो कार्ययोजनाबारे जानकारी दिए। उनले नगर प्रहरीलाई फुटपाथ अतिक्रमण र अव्यवस्थित पार्किङ नियन्त्रणमा केन्द्रित हुन निर्देशन दिइएको बताए।
जोशीका अनुसार धुलो तथा धुवाँ नियन्त्रण, सार्वजनिक शौचालयको व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण र वर्कसप सञ्चालनसम्बन्धी विषयमा पनि नगर प्रहरीको सक्रिय भूमिका रहनेछ। उनले पछिल्लो समय धेरै समस्या नियन्त्रणमा आइसकेको उल्लेख गर्दै अब ती क्षेत्रको निरन्तर अनुगमनलाई प्राथमिकता दिइने स्पष्ट पारे।
उनले कामप्रति जिम्मेवार नहुने र शक्तिकेन्द्र धाउने प्रवृत्ति त्याग्न नगर प्रहरीलाई चेतावनी दिँदै सबैलाई आफ्नो जिम्मेवारीमा केन्द्रित हुन आग्रह गरे।
जोशीले भने,“अहिले गरिरहेका काममै फोकस गर्न जरुरी छ। फुटपाथ र पार्किङ व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ। धेरै विषयमा सुधार आएको छ, अब त्यसलाई कायम राख्न निरन्तर मनिटरिङ पर्याप्त हुन्छ।”
नगर प्रहरी प्रमुख जोशीले सार्वजनिकसँग संवाद गर्दा सभ्य, सम्मानजनक र नरम भाषा प्रयोग गर्न निर्देशन दिए। उनले बोलचालमा अपमानजनक शब्द प्रयोग नगर्न र सबै नागरिकसँग मर्यादित व्यवहार गर्न आग्रह गरे।
यसैगरी, उनले सार्वजनिक स्थलमा धुम्रपान नियन्त्रणलाई प्रभावकारी रूपमा लागू गर्न निर्देशन दिँदै विगतमा सुरु गरिएका सकारात्मक कार्यलाई निरन्तरता दिइने जानकारी दिए।
महानगरपालिकाले नागरिकमैत्री सेवा प्रवाह र शहरी अनुशासनलाई बलियो बनाउने लक्ष्यसहित फुटपाथ र पार्किङ व्यवस्थापनलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने जनाएको छ।