सार्वजनिक सम्पत्ति जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ : अध्यक्ष ओली

२ महिना अगाडि
सार्वजनिक सम्पत्ति जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति जलाउने र तोडफोड गर्ने कार्य अपराध भएकाले दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।

बुधवार गृह जिल्ला झापामा पुगेर जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका संरचनाहरूको अवलोकन गर्दै अध्यक्ष ओलीले यस्तो धारणा राखेका हुन्। उनले सार्वजनिक सम्पत्ति, स्थानीय तहका संरचना र राजनीतिक कार्यकर्ताका घरमा आगजनी गर्नु गम्भीर आपराधिक गतिविधि भएको बताए।

अध्यक्ष ओलीले अपराधलाई कुनै पनि हालतमा प्रोत्साहन गर्न नहुने स्पष्ट पार्दै अपराध नियन्त्रणमार्फत शान्तिपूर्ण र बस्न लायक देश निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले भने,“राष्ट्रिय सम्पत्ति, सार्वजनिक सम्पत्ति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर वा कार्यालय जलाउने काम अपराध हो। यस्ता गतिविधिलाई प्रोत्साहन गर्न सकिँदैन। अपराध रोक्नुपर्छ र दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। अरूको घर जलाएर उम्किन पाइँदैन।”

अध्यक्ष ओलीले हालको सरकारले यस्ता घटनामा संलग्न व्यक्तिहरूलाई संरक्षण गरेको आरोप पनि लगाए। उनले अन्तरिम सरकारकै कमजोरीका कारण अपराधीहरू कारबाहीबाट जोगिएको दाबी गरे।

यसैबीच, आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अध्यक्ष ओली सोमबार मात्रै झापा पुगेका थिए। उनले झापा–५ निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्नेगरी मनोनयन दर्ता गराइसकेका छन्।