काठमाडौं। कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट उम्मेदवारी दिएका रेशमलाल चौधरीको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ । चौधरीविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा कानुनी अयोग्यता देखिएकाले उम्मेदवारी अमान्य गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
चौधरी व्यक्ति हत्या अभियोगमा सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका थिए । यद्यपि, उनलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले सजाय माफीका लागि सिफारिस गरेको र सोही सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलबाट माफी प्रदान गरिएको थियो । तर, सो विषयलाई लिएर परेको उजुरीका कारण उनको उम्मेदवारी खारेज गरिएको हो ।
यसैबीच, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट–१ बाट दिएको उम्मेदवारीविरुद्ध परेको उजुरी भने दरपीठ भएको छ । यस्तै भक्तपुर–२ का उम्मेदवार राजीव खत्री र जानुका पाठकविरुद्ध दर्ता भएका उजुरीहरू पनि खारेज भएका छन् । अब निर्वाचन आयोगले अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गर्ने तयारी गरेको छ ।