काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र बनाएको छ । आयोगका अनुसार माघ ९ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ र त्यसपछि प्रत्यक्षतर्फका मतपत्र छपाइ सुरु हुनेछ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार माघ महिनाभित्रै प्रत्यक्षतर्फका सबै मतपत्र छपाइ सम्पन्न गरिनेछ । छापिएका मतपत्र फागुनको पहिलो हप्ताभित्र देशभरका सबै निर्वाचन क्षेत्रमा पुर्याइसक्ने तयारी गरिएको छ ।
समानुपातिकतर्फ भने हालसम्म डेढ करोड मतपत्र छपाइ भइसकेको र बाँकी करिब ५० लाख मतपत्रको छपाइ अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । निर्वाचन व्यवस्थापनका लागि आवश्यक ५१ प्रकारका सामग्रीमध्ये ३७ प्रकारका सामग्री सम्बन्धित जिल्लामै खरिद गर्ने व्यवस्था गरिएको पनि आयोगले जानकारी दिएको छ ।