काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गर्ने तयारी गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ ।
बैठकबाट भावी प्रधानमन्त्रीको घोषणा भएपछि थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाने कार्यक्रम रहेको बताइएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराइसकेका छन् ।
थापाका तर्फबाट प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले समर्थकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए । यसैबीच सभापति थापाले बसन्तपञ्चमीको साइतमा पार्टी कार्यालय प्रवेश गर्ने तयारी पनि गरेका छन् ।