अस्ट्रेलियामा गोली हानाहान, तीन जनाको मृत्यु

२ महिना अगाडि
अस्ट्रेलियामा गोली हानाहान, तीन जनाको मृत्यु

ऋषि बुढाथोकी

सिड्नी। अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा भएको गोली हानाहानको घटनामा तीन जनाको मृत्यु भएको छ । एनएसडब्ल्यू प्रहरीले सिड्नीबाट करिब ४५० किलोमिटर पश्चिममा पर्ने कार्गेलिगो ताल नजिकै गोली चलाइएको पुष्टि गरेको छ ।

घटनामा दुई महिला र एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ भने एक जना गम्भीर घाइते अवस्थामा अस्पताल भर्ना गरिएको छ । प्रहरीले घटनास्थल आसपास सुरक्षा व्यवस्था कडा बनाउँदै सर्वसाधारणलाई उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ ।

यसअघि गत डिसेम्बरमा सिड्नीको बोन्डी बीचमा भएको आक्रमणमा १५ जनाको ज्यान गएको थियो । त्यसको दुई महिनापछि फेरि गोली हानाहानको घटना भएपछि सुरक्षा चासो बढेको छ ।