काठमाडौं १ वैशाख । नेपालले यु-१९ विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ। यस जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने ओमान लगातार दोस्रो हारसँगै संकटमा परेको छ।
सहज लक्ष्य, सहज जित
१ सय १८ रनको झिनो लक्ष्य पछ्याएको नेपालले मात्र १४.३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो।
नेपालका ओपनरद्वय साहिल पटेल र निरज कुमार यादवले पहिलो विकेटका लागि ८५ रनको साझेदारी गर्दै टिमलाई बलियो सुरुवात दिलाए। निरजले ३१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४६ रन बनाए, जबकि साहिलले ४४ रन बनाए। दुवै ब्याट्सम्यानलाई सौम्य भविनसम्पतले आउट गरे।
कप्तान नरेन भट्ट १२ रनमा अविजित रहे।
ओमानको निराशाजनक प्रदर्शन
टस हारेर पहिले ब्याटिङ गरेको ओमान ३६ ओभरमै ११७ रनमा अलआउट भयो। केवल ब्रजेश शाह मात्र टिक्न सके, जसले ७८ बलमा ५२ रन बनाए। बाँकी खेलाडीहरू प्रभावहीन देखिए। आठ जना ब्याटरले दोहोरो अंकसम्म जोड्न सकेनन्।
युवराज खत्रीको पाँच विकेटको कमाल
नेपालको बलिङतर्फ युवराज खत्री चम्किए। उनले ७ ओभरमा २ मेडन सहित मात्र १५ रन खर्चिएर ५ विकेट लिए। सन्तोष यादवले पनि २ विकेट लिएर सहयोग गरे।
अंक तालिका र आगामी खेल
दुई जितसहित नेपालले ४ अंक जोडेको छ। नेपालले हिजो पहिलो खेलमा युएईलाई डिएलएस नियम अनुसार ५ रनले हराएको थियो। दोस्रो खेलमा पनि विजय हात पार्दै नेपाल सेमिफाइनल यात्रा तर्फ मजबुत अवस्थामा पुगेको छ। अब नेपालले बुधबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ भने अफगानिस्तानले युएईसँग खेल्नेछ।
नेपालको यु-१९ टोलीको उत्कृष्ट प्रदर्शनले नेपाली क्रिकेट प्रेमीहरूमा उत्साह थपेको छ। नयाँ वर्षको उमङ्गमा नेपाली टिमको यो जितले थप उत्साह भरिदिएको छ।