निर्वाचन विशेष

रुपन्देही–१ मा युवा नेता हिरा केसी घरदैलोमा, मतदाता भन्छन्- हिरा हिरो हुन्

२ महिना अगाडि
रुपन्देही–१ मा युवा नेता हिरा केसी घरदैलोमा, मतदाता भन्छन्- हिरा हिरो हुन्

रुपन्देही । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार हिरा केसी मतदातासँगको प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिँदै घरदैलो तथा भेटघाट अभियानमा सक्रिय देखिएका छन्। स्थानीयस्तरमै लामो समयदेखि जनतासँग जोडिँदै आएका केसीले चुनावका बेला मात्र होइन, नियमित रूपमा मतदाताको घर–घरमा पुगेर उनीहरूको समस्या, गुनासो र अपेक्षा सुन्दै आएका छन्।

नेपाली कांग्रेसबाट आधिकारिक उम्मेदवारका रूपमा अघि सारिएका केसी पार्टीभित्र युवा पुस्ताको प्रतिनिधि नेता मानिन्छन्। उनी देवदह नगरपालिकाका पूर्वमेयर समेत हुन्। मेयर रहँदा उनले देवदह नगरपालिकाको समग्र समृद्धि र विकासका लागि दीर्घकालीन सोचका साथ काम गरेको स्थानीयहरू सगर्व भन्छन् । पूर्वाधार विकासदेखि शिक्षा, खेलकुद र कृषि क्षेत्रमा उनले सुरु गरेका कार्यक्रमहरू अहिले पनि स्थानीयस्तरमा उदाहरणीय मानिन्छन्।

विशेषगरी कृषि क्षेत्रसँग गहिरो रूपमा जोडिएका केसी स्वयं पनि कृषि युवा व्यवसायी हुन्। उनले कृषकका समस्या नजिकबाट बुझेका छन् र उत्पादन, बजारीकरण तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै काम गरेका छन्। मेयर कार्यकालमा कृषि क्षेत्रमा आधारित कार्यक्रममार्फत युवालाई स्वदेशमै उद्यमशील बनाउन प्रेरित गरेको श्रेय पनि उनलाई दिइन्छ। यही कारण उनी कृषक र युवा वर्गबीच लोकप्रिय नेता मानिन्छन्।

मेयर रहँदा देवदह नगरपालिकामा खेलकुद पूर्वाधार विकासमा उल्लेखनीय काम भएको स्थानीयहरू सम्झन्छन्। खेलमैदान निर्माण, खेलकुद प्रतियोगिताको प्रवर्द्धन र युवालाई खेलकुदतर्फ आकर्षित गर्ने कार्यक्रममार्फत उनले नगरपालिकामा नयाँ ऊर्जा थपेका थिए। त्यसैगरी विद्यालय व्यवस्थापन, शैक्षिक वातावरण सुधार, भौतिक संरचना निर्माण र गुणस्तरीय शिक्षामा जोड दिँदै उनले शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेका थिए।

राजनीतिलाई केवल पद र पहुँचको माध्यम नभई जनसेवाको अभियानका रूपमा लिने केसीले रुपन्देही–१ लाई आफ्नो राजनीतिक क्षेत्र मात्र नभई परिवारका रूपमा हेर्ने बताउँदै आएका छन्। निर्वाचन नजिकिँदै जाँदा उनको अभियानमा स्थानीय कांग्रेस कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको छ। मतदातासँगको संवादमा उनले विकास, रोजगारी, कृषि आधुनिकीकरण र युवा सशक्तीकरणलाई मुख्य एजेण्डा बनाएका छन्।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार पूर्वमेयरका रूपमा प्राप्त अनुभव, व्यवस्थापकीय क्षमता र जनतासँगको निरन्तर सम्पर्कले हिरा केसीलाई रुपन्देही–१ मा बलियो उम्मेदवारका रूपमा स्थापित गरेको छ। विगतको काम, विकासप्रतिको प्रतिबद्धता र सरल स्वभावका कारण मतदातामा विश्वास कायम गर्न सफल भएका केसी यसपटक पनि जनताको साथ र भरोसामै चुनावी मैदानमा उत्रिएका छन्।