निर्वाचन विशेष

मतदातासँग भिझेका डाक्टर सुनिल शर्मा घरदैलोमा

२ महिना अगाडि
मतदातासँग भिझेका डाक्टर सुनिल शर्मा घरदैलोमा

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिलकुमार शर्माले घरदैलो अभियानलाई तिब्रता दिएका छन् ।

शर्माले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिइरहेका हुन् । नेपाली कांग्रेसबाट एकल सिफारिस भई टिकट प्राप्त गरेका डा. शर्मा डा. शेखर कोईराला समूहका नेता हुन् । यसअघि २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका उनी यसपटक पनि मतदाताको साथ र विश्वासमा निर्भर रहेको बताउँछन् ।

निर्वाचन क्षेत्रका मतदाताहरूले शर्माको विगतको योगदानको प्रशंसा गर्दै आएका छन् । स्थानीयका अनुसार उनले क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् भने गरिब तथा दुःखी परिवारलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गरेर जनताको मन जितेका छन् ।

एक स्थानीय मतदाताले भने, “उहाँले हाम्रो क्षेत्रका लागि धेरै राम्रो काम गर्नुभएको छ। गरिब दुःखीलाई सहयोग गर्ने उहाँजस्तो नेता हामीलाई चाहिएको छ । भोट सुनिल शर्मा बाहेक अरूतिर जाँदैन।”

शर्माले पनि मोरङ क्षेत्र नं. ३ लाई आफ्नो राजनीतिक क्षेत्र मात्र नभई परिवारको रूपमा लिएको बताउँदै आएका छन्। निर्वाचन नजिकिँदै गर्दा उहाँको अभियानमा स्थानीय कार्यकर्ता तथा शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता देखिएको छ ।