काठमाडौं । विभिन्न राजनीतिक आन्दोलनमा जीवन बलिदान दिने शहीदहरूको सम्झनामा आजदेखि देशभर शहीद सप्ताह सुरु भएको छ।
शहीद सप्ताहको अवसरमा टेकुस्थित शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्दै कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको हो। कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शालिकमा माला अर्पण गरेकी थिइन्।
वि।सं। १९९७ माघ १० गते प्रजातन्त्र स्थापनाको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका शुक्रराज शास्त्रीलाई तत्कालीन राणा शासकले टेकुको पचलीमा झुन्ड्याएर मृत्युदण्ड दिएको थियो। सोही दिनको स्मरणमा प्रत्येक वर्ष शहीद सप्ताह सुरु गर्ने परम्परा छ।
त्यसैगरी माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र माघ १५ गते दशरथ चन्द तथा गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो। माघ १६ गते शहीद दिवस मनाइन्छ।