काठमाडौं । मच्छिन्द्र क्लबले प्लानिङ ब्वाइज युनाइटेडलाई २–० ले पराजित गर्दै जारी राष्ट्रिय लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मच्छिन्द्रका लागि सौरभ लिम्बू र जोनाथन कान्टिलानाले समान एक–एक गोल गरे।
खेलको ४१औं मिनेटमा सौरभ लिम्बूले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ७४औं मिनेटमा जोनाथन कान्टिलानाले उत्कृष्ट फिनिसमार्फत अग्रता दोब्बर बनाए।
प्लानिङ ब्वाइजले खेलमा केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन। मच्छिन्द्रका गोलरक्षक तथा रक्षापंक्तिले विपक्षी टोलीको आक्रमणलाई प्रभावकारी रूपमा रोक्न सफल भए।