भोटेकोशीमा तिब्बततर्फबाट ठूलो बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता

२ हप्ता अगाडि
भोटेकोशीमा तिब्बततर्फबाट ठूलो बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा पानीको बहाव अत्यधिक बढेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्रिशूली नदी तथा भोटेकोशी आसपासका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार तिब्बतमा हिमताल विस्फोट भएको आशंका गरिएको छ। यद्यपि यसबारे तिब्बत पक्षबाट आधिकारिक विवरण भने प्राप्त भइसकेको छैन।

प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले तिब्बततर्फबाट भोटेकोशीमा ठूलो बाढी प्रवेश गरेकाले अर्को सूचना जारी नभएसम्म त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च सतर्कतामा रहन आग्रह गरेका छन्।

उनले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।