चीनले पूर्वसूचना नदिएको आरोप खण्डन, ‘दोषारोपण होइन सहकार्य आवश्यक’

२ हप्ता अगाडि
चीनले पूर्वसूचना नदिएको आरोप खण्डन, ‘दोषारोपण होइन सहकार्य आवश्यक’

काठमाडौं । नेपाल–चीन सीमास्थित रसुवागढी-केरुङ क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबारे चीनले समयमै पूर्वसूचना नदिएको भन्ने आरोपलाई नेपालस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ ।

दूतावासले सार्वजनिक गरेको स्पष्टीकरणमा नेपालमा लगाइएका दुई आरोपलाई "फेक न्युज" भन्दै असत्य दाबी गरिएको छ । चीनले पूर्वचेतावनी नदिएका कारण नेपालमा ठूलो मानवीय क्षति भएको र चीनतर्फको भौगर्भिक विपद्का कारण बनेको बाँध भत्किँदा नेपालमा क्षति भएको भन्ने दुवै दाबी गलत रहेको दूतावासको भनाइ छ ।

चिनियाँ पक्षका अनुसार २६ अगस्टको बिहान नेपालतर्फ भूकम्प वा भूकम्पकै झड्काजस्तो हिमपहिरो गएको र त्यसपछि ठूलो पहिरो निम्तिएको थियो । उक्त घटनाले रसुवागढी–केरुङ सीमा क्षेत्रका नेपाल र चीन दुवैतर्फ क्षति तथा मानवीय क्षति भएको दूतावासको दाबी छ ।

विपद्को समयमा एकअर्कामाथि दोषारोपण गर्नुभन्दा उद्धार तथा राहतमा सहकार्य गर्नुपर्नेमा चीनले जोड दिएको छ । दूतावासले ‘आरोपले समाधान दिँदैन, सहकार्यले जीवन बचाउँछ’ भन्ने सन्देश दिएको छ ।