नेप्सेमा झिनो गिरावट, कारोबार रकम ३ अर्ब ७८ करोड

२ हप्ता अगाडि
नेप्सेमा झिनो गिरावट, कारोबार रकम ३ अर्ब ७८ करोड

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। कारोबार समय सकिँदा नेप्से १.०४ अंक अर्थात् ०.०४ प्रतिशतले घटेर २ हजार ५५७.३१ विन्दुमा झरेको हो।

सूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने सन्तोषजनक देखिएको छ। आज ३४८ कम्पनीका १ करोड ६ लाख २६ हजार ३७० कित्ता सेयर ५२ हजार ५७५ पटक किनबेच हुँदा कुल ३ अर्ब ७८ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बजारमा सूचक घटे पनि सेयर मूल्य बढ्ने कम्पनीको संख्या बढी छ। आज १४६ कम्पनीको सेयर मूल्य बढ्दा ११८ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ।

कारोबारमा सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिजका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ३९४ रुपैयाँ ८० पैसा पुगेको छ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ। कम्पनीको २१ करोड ७५ लाख ९१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। नेपाल एसबिआई बैंक दोस्रो स्थानमा रहेको छ।

यता, अप्पर हाइड्रोखोलाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। कम्पनीको सेयर मूल्य ९.४५ प्रतिशतले घटेको छ।

उपसमूहतर्फ हाइड्रोपावर, लगानी, जीवन बीमा, सामूहिक लगानी कोष र निर्जीवन बीमा समूहको सूचक घटेको छ। बाँकी सबै उपसमूहको सूचक भने बढेको नेप्सेले जनाएको छ।