भोटेकोशी बाढी

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ३८९ पुग्यो, सयौँ अझै बेपत्ता

२ हप्ता अगाडि
रसुवा बाढीमा मृत्यु हुनेको संख्या ३८९ पुग्यो, सयौँ अझै बेपत्ता

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ३८९ पुगेको छ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार बेलुका ९ बजेसम्ममा बाढी प्रभावित ८ जिल्लाबाट ३८९ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार चितवनस्थित नारायणी नदी किनारबाट मात्रै १३७ जनाको शव निकालिएको छ। यस्तै नवलपरासी पूर्वमा ७, रसुवामा १७, नुवाकोटमा २, धादिङमा ३३, गोरखामा ३२, तनहुँमा २८ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ।

बाढीपछि अझै सयौँ मानिस बेपत्ता छन्। बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले तीव्र बनाएको छ। हालसम्म ४६६ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रसुवाबाट २८९ जना, नुवाकोटबाट ९० जना र धादिङबाट ३ जनाको उद्धार गरिएको छ। यस्तै ८४ जनालाई उद्धार गरी काठमाडौं ल्याइएको छ।

बेपत्ताको खोजी तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायसँगै आफन्त र स्थानीय बासिन्दासमेत सक्रिय छन्। बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धार अभियान जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ।