काठमाडौं । देशमा मनसुनी वायुको प्रभाव कायमै रहँदा आज केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ।
विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने विभागले जनाएको छ।
त्यस्तै, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
राति पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ।
राति देशभर साधारणतया बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।
यस्तै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने विभागले जनाएको छ।
विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन तथा वर्षाका कारण हुन सक्ने बाढी, पहिरो र डुबानको जोखिमप्रति सचेत रहन आग्रह गरेको छ।