काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परेर मृत्यु हुनेको संख्या ५ सय ४७ पुगेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार अपरान्ह ३ बजेसम्म बाढी प्रभावित विभिन्न जिल्लाबाट ५४७ जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४० र चितवनमा २२१ जनाको शव फेला परेको छ। यस्तै गोरखामा ४४, तनहुँमा २९, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
बाढीपछि अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायबाट ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा आसपासका क्षेत्रमा सुरक्षा सतर्कतासमेत बढाइएको प्रहरीले जनाएको छ।