काठमाडौं । झापामा जापनिज इन्सेफ्लाइटिस (मस्तिष्क ज्वरो) को संक्रमण फैलिएको छ। संक्रमणका कारण जिल्लामा हालसम्म ६ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
कार्यालयका अनुसार मेचीनगर नगरपालिकामा दुई जना तथा बिर्तामोड, अर्जुनधारा, बाह्रदशी र हल्दीबारीमा एक–एक जनाको मृत्यु भएको हो।
जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रिजकुमार दासका अनुसार जिल्लामा जापनिज इन्सेफ्लाइटिस संक्रमणबाट हुने मृत्युदर ६० प्रतिशत पुगेको छ। संक्रमण र मृत्युदर उच्च रहेकाले पहिलो चरणमा झापालाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको उनले बताए।
जापनिज इन्सेफ्लाइटिस मस्तिष्कमा असर गर्ने भाइरल संक्रमण हो। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितमध्ये करिब एक तिहाइको मृत्यु हुन सक्छ भने बाँचेकामध्ये आधासम्ममा गम्भीर तथा दीर्घकालीन अपाङ्गता हुन सक्ने जोखिम हुन्छ।
नेपालमा पछिल्लो ६ सातामा मात्रै कम्तीमा २१ जनाको जापनिज इन्सेफ्लाइटिस संक्रमणबाट मृत्यु भएको छ भने ५९ जना संक्रमित भएका छन्। कोशी प्रदेशमा २४ जनामा संक्रमण देखिएकामा १० जनाको मृत्यु भएको जनाइएको छ।
संक्रमण फैलिएपछि झापामा करिब पाँच लाख जनालाई खोप लगाउने तयारी थालिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दासका अनुसार भदौको अन्तिम साता वा असोजको पहिलो सातादेखि खोप अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ।