काठमाडौँ उपत्यकामा आज पनि वर्षाको सम्भावना, दिउँसोपछि पानी पर्न सक्ने

२ हप्ता अगाडि
काठमाडौँ उपत्यकामा आज पनि वर्षाको सम्भावना, दिउँसोपछि पानी पर्न सक्ने

काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार बिहानैदेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। मौसमविद्का अनुसार केही समयपछि वर्षा कमजोर हुने देखिए पनि दिउँसो पुनः पानी पर्ने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार बिहान भइरहेको वर्षा केही समयपछि कम हुँदै जाने सम्भावना छ। तर दिउँसो १ देखि २ बजेतिरबाट उपत्यकाका विभिन्न क्षेत्रमा फेरि वर्षा हुन सक्ने उनले बताएकी छन्।

उनका अनुसार शनिबार काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ। मौसममा पूर्ण सुधार आउनेभन्दा पनि केही समय पानी पर्ने र केही समय रोकिने अवस्था देखिन सक्ने अनुमान गरिएको छ।

देशभरको विस्तृत मौसम अवस्थाबारे मौसम पूर्वानुमान महाशाखाले बिहान ८ बजेपछि नियमित बुलेटिनमार्फत जानकारी सार्वजनिक गर्ने जनाएको छ।

मौसममा परिवर्तन भइरहने भएकाले बाहिर निस्कँदा आवश्यक सावधानी अपनाउन तथा पछिल्लो मौसम पूर्वानुमान हेरेर दैनिक गतिविधि तय गर्न मौसमविद्ले सुझाव दिएका छन्।