भोटेकोसी बाढी

धुन्चेमा अलपत्र यात्रुको स्थलमार्गबाट उद्धार सुरु, वैकल्पिक बाटो प्रयोग

२ हप्ता अगाडि
धुन्चेमा अलपत्र यात्रुको स्थलमार्गबाट उद्धार सुरु, वैकल्पिक बाटो प्रयोग

भक्तपुर । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र परेका तीर्थयात्री, पर्यटक तथा सर्वसाधारणको स्थलमार्गबाट उद्धार सुरु गरिएको छ। बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी उनीहरूलाई काठमाडौं उपत्यका ल्याउने व्यवस्था मिलाएको हो।

प्रदेश सरकारका अनुसार धुन्चेमा रोकिएका यात्रुलाई महावीरसम्म सवारीसाधनमार्फत ल्याउने र त्यसपछि करिब एक घण्टा पैदल हिँडाएर चौगटी पुर्‍याउने व्यवस्था गरिएको छ। चौगटीबाट पुनः सवारीसाधनमार्फत काठमाडौं ल्याउने कार्य भइरहेको छ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले धुन्चेमा रहेका सर्वसाधारणका लागि खाना तथा यातायातको व्यवस्था प्रदेश सरकारले गरेको जानकारी दिए।

“धुन्चेमा रोकिएका सर्वसाधारणलाई हामीले त्यहीँ खाना खुवाउने व्यवस्था गरेका छौँ। खाना खुवाइसकेपछि उहाँहरूलाई मोटरमार्फत महावीरसम्म पुर्‍याउने र महावीरबाट करिब एक घण्टा पैदल हिँडेपछि चौगटी पुर्याएर त्यहाँबाट पुनः सवारीसाधनमार्फत काठमाडौं पठाउने कार्य गरेका छौँ,” मुख्यमन्त्री थापाले भने।

उद्धारको पर्खाइमा रहेका यात्रुलाई काठमाडौंसम्म ल्याउन प्रदेश सरकारले निःशुल्क बस सेवा समेत सञ्चालन गरेको जनाएको छ। धुन्चेसँगै चौगटीमा पनि सर्वसाधारणका लागि खानाको व्यवस्था प्रदेश सरकारले नै मिलाएको मुख्यमन्त्री थापाले बताए।

मध्यपहाडी लोकमार्ग सञ्चालनको प्रयास

यसैबीच, वाग्मती प्रदेश सरकारले त्रिशूलीपारि अवरुद्ध रहेको मध्यपहाडी लोकमार्ग मर्मत गरी यातायात सञ्चालनमा ल्याउने प्रयास थालेको जनाएको छ।

उक्त सडक सञ्चालनमा आएपछि रसुवालगायत बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रका सर्वसाधारणले वैकल्पिक मार्गका रूपमा मध्यपहाडी लोकमार्ग प्रयोग गरी काठमाडौं आउन सक्ने अपेक्षा गरिएको छ।

बाढीका कारण मुख्य सडकमार्ग अवरुद्ध भएपछि धुन्चेलगायत क्षेत्रमा ठूलो संख्यामा यात्रु तथा सर्वसाधारण अलपत्र परेका थिए। उनीहरूको सुरक्षित उद्धार तथा आवतजावत सहज बनाउन प्रदेश सरकारले वैकल्पिक मार्ग र यातायातको व्यवस्था अघि बढाएको हो।