काठमाडौं । राष्ट्रिय सभा सदस्यमा यसपटक १८ जना नयाँ अनुहार प्रवेश गरेका छन् । नवनिर्वाचित सदस्यहरूमा अनुभवी नेतादेखि युवा पुस्ताका प्रतिनिधि र विभिन्न समुदायको समावेशी उपस्थिति देखिएको छ ।
फागुन २० गते कार्यकाल सकिन लागेका १९ मध्ये १८ पदका लागि आइतबार निर्वाचन भएको थियो । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीच तालमेल भएको थियो भने नेपाल कम्युनिस्ट पार्टी एक्लै चुनावी प्रतिस्पर्धामा थियो । नतिजाअनुसार तालमेलबाट उम्मेदवारी दिएका सबैजसो उम्मेदवार विजयी भएका छन् ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता हुन्छन् । सातै प्रदेशका ५५० प्रदेश सभा सदस्य र ७५३ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल १ हजार ५०६ स्थानीय तहका पदाधिकारी यस निर्वाचनका मतदाता थिए । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल फागुन २१ गतेदेखि सुरु हुनेछ ।
प्रतिनिधिसभाको अनुभव बोकेर राष्ट्रिय सभामा
यसपटक राष्ट्रिय सभामा निर्वाचितहरूमध्ये महन्थ ठाकुर, रामकुमारी झाँक्री, सुनिलबहादुर थापा र ललितजंग शाही यसअघि प्रतिनिधिसभा सदस्य भइसकेका नेताहरू हुन् ।
मधेश प्रदेशबाट निर्वाचित ८३ वर्षीय महन्थ ठाकुर लामो संसदीय यात्रापछि राष्ट्रिय सभामा पुगेका हुन् । उनले विभिन्न निर्वाचनमा जित–हार दुवै भोगेका छन् भने उपसभामुख र मन्त्रीसमेत भइसकेका छन् ।
लुम्बिनी प्रदेशबाट निर्वाचित रामकुमारी झाँक्री २०७४ मा प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । विद्यार्थी राजनीतिबाट उदाएकी उनी यसपटक राष्ट्रिय सभामा प्रवेश गरेकी छन् ।
कर्णाली प्रदेशबाट निर्वाचित ललितजंग शाही संविधानसभा सदस्यका रूपमा संविधान निर्माण प्रक्रियामा संलग्न नेता हुन् । राष्ट्रिय सभामा पुगेपछि उनले संविधान कार्यान्वयनलाई सही दिशामा लैजान भूमिका खेल्ने बताएका छन् ।
निर्विरोध निर्वाचित सुनिल थापा
कोशी प्रदेशबाट सुनिलबहादुर थापा निर्विरोध राष्ट्रिय सभा सदस्य बने । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा थापा संघीय सांसद र मन्त्रीको अनुभव बोकेका नेता हुन् । लामो राजनीतिक उतारचढावपछि राष्ट्रिय सभामार्फत संसद्मा पुनः प्रवेश गरेका छन् ।
सीमान्तकृत समुदायबाट प्रतिनिधित्व
कोशी प्रदेशबाट रोशनी मेचे राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएसँगै मेचे समुदायको संघीय संसद्मा पुनः उपस्थिति सुनिश्चित भएको छ । समाजशास्त्र र कानुन अध्ययन गरेकी मेचेले अब सीमान्तकृत समुदायका मुद्दा राष्ट्रिय तहमा उठाउने अवसर पाएकी छन् ।
मधेश प्रदेशबाट विविध पृष्ठभूमिका सांसद्
मधेश प्रदेशबाट कांग्रेसका धमेन्द्र पासवान र रन्जित कर्ण तथा एमालेकी रेखा झा निर्वाचित भएका छन् । पासवान दलित अधिकारकर्मीका रूपमा परिचित छन् भने कर्ण विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् ।
युवाको आवाज राष्ट्रिय सभामा
कोशी प्रदेशबाट दलित क्लस्टरअन्तर्गत निर्वाचित सोम पोर्तेलले राष्ट्रिय सभामा युवाका मुद्दा सशक्त रूपमा उठाउने बताएका छन् । स्थानीय तह र जिल्ला समन्वय समितिमा काम गरिसकेका उनी युवापुस्ताको प्रतिनिधित्व गर्ने सांसद् हुन् ।
अन्य प्रदेशका नवनिर्वाचित सदस्य
बागमती प्रदेशबाट कांग्रेसकी गीता देवकोटा र एमालेका डा। प्रेम दंगाल निर्वाचित भएका छन् । गण्डकी प्रदेशबाट कांग्रेसका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटा संसद् पुगेका छन् । तिमिल्सिना विश्वविद्यालयमा अध्यापन गराउँदै आएका थिए ।
लुम्बिनी प्रदेशबाट कांग्रेसका वासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट कांग्रेसका ललितजंग शाही र एमालेकी मिना रखाल तथा सुदूरपश्चिम प्रदेशबाट कांग्रेसका खम्मबहादुर खाती र एमालेकी लीला भण्डारी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।
यसपटकको निर्वाचनले राष्ट्रिय सभामा अनुभव, युवा ऊर्जा र समावेशी प्रतिनिधित्वको सन्तुलित उपस्थिति सुनिश्चित गरेको देखिन्छ ।