काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेर मृत्यु हुनेको संख्या ७६८ पुगेको छ। नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो २ बजेसम्म बाढी प्रभावित विभिन्न क्षेत्रमा ७६८ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। चितवनमा २६४, पूर्वी नवलपरासीमा १९४ र पश्चिम नवलपरासीमा १०० जनाको शव फेला परेको छ।
यस्तै, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
बाढी तथा त्यसबाट उत्पन्न विपद्मा परी प्रभावित भएका २ हजार ७१५ जना घाइते तथा अन्य व्यक्तिको उद्धार गरिएको प्रहरीले जनाएको छ।
यस्तै, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत घाइतेमध्ये १६० जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन्।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, शव सङ्कलन तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेका छन्।