काठमाडौं । नेपाली कांग्रेसले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने भएको छ।
कांग्रेस केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै चालिसेले सरकारले राहत तथा उद्धार कार्यलाई थप तीव्रता दिनुपर्ने बताए। विशेषगरी सुरुङमा फसेका नागरिकको उद्धारका लागि तत्काल प्रभावकारी प्रयास गर्नुपर्ने उनको भनाइ छ।
उनले खोज तथा उद्धार कार्य परिणाममुखी हुनुपर्ने भन्दै नेपाली क्षमताले नभ्याए अन्तर्राष्ट्रियस्तरका विज्ञको सहयोग लिन सरकारलाई आग्रह गरे।
बाढीपीडितलाई उपलब्ध गराइने राहत प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिनुपर्नेमा पनि कांग्रेसले जोड दिएको छ। पीडितसम्म तत्काल राहत पुर्याउन सरकारलाई आग्रह गर्दै चालिसेले स्थानीय संयन्त्रलाई परिचालन गर्नुपर्ने बताए।
रसुवा र नुवाकोटमा पर्यटन तथा व्यावसायिक सिलसिलामा पुगेका अन्य जिल्लाका नागरिकसमेत बाढीमा परेको उल्लेख गर्दै कांग्रेसले उनीहरूको खोजी तथा सुरक्षामा समेत विशेष ध्यान दिन आग्रह गरेको छ।